ओली र मोदीबीच न्यूयोर्कमा साइडलाइनमा भेटवार्ता हुने

ओली र मोदीबीच न्यूयोर्कमा साइडलाइनमा भेटवार्ता हुने


ग्लोब नेपाल
243
Shares

न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार साइडलाइनमा भेटबार्ता गर्ने भएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन । तर प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घन्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको हो ।

दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने सक्ने सन्देश शुक्रबार प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा भेटवार्ता हुनेछ । परराष्ट्र मन्त्रालयले लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य गरेको थियो । तर भारतीय प्रधानमन्त्री मोदी न्यूयोर्कमा एक रात मात्र बस्ने भनेकाले साइडलाइन भेटवार्ता अनिश्चत बनेको थियो ।

चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ । मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ ।