रवि र धनराजसहित ५५ जनालाई पक्राउ गर्न प्रहरी परिचालन

रवि र धनराजसहित ५५ जनालाई पक्राउ गर्न प्रहरी परिचालन



काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । संसदीय छानबिन समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो ।

सहकारी ठगीमा संलग्न गोर्खा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको छ ।

त्यस्तै गोर्खा मिडिया नेटवर्ककै पूर्व सञ्चालक एवं रास्वपा सभापति रवि लामिछाने र कांग्रेस उपसभापति धनराज गुरुङलाई समेत आइतबार नै पक्राउ गर्ने तयारी प्रहरीले गरेकाे छ । उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन नै गरिएको छ ।

असोज २ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आइतबार नै प्रहरी मुख्यालय पुगेर निर्देशन दिएका थिए ।