काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा मिडियामार्फत लामिछानेले दुरूपयाेग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका हुन् ।
जिल्ला प्रशासन कार्यालयकाे गेटनेर सहकारी पीडित र त्यसकै ठिकअगाडि शहीद चाेककाे चाैतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडिले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता-कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।
सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने-सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएकाे प्रहरीले जनाएकाे छ ।
विभिन्न सहकारीमा भएकाे अपचलनबारे छानबिन गर्न बनेकाे विशेष संसदीय समितिकाे सिफारिस र गृहमन्त्री रमेश लेखककाे निर्देशनपछि आइतबार गाेरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जाेशीलाई पक्राउ परेर पाेखरा ल्याइएकाे छ ।
झन्डै डेढ अर्ब अपचलन भएकाे सूर्यदर्शन सहकारीबाट गाेर्खा मिडियामा ५ कराेड रूपैयाँ देखिएकाे छ । सहकारीका अध्यक्ष जीबी राईलाई भगाउन पनि रविकै संलग्नता रहेकाे आराेप पीडित संघर्ष समितिले लगाएका छन् ।
प्रतिक्रिया