नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु

नुहाउने क्रममा जितिया ब्रतालुको पोखरीमा डुबेर मृत्यु



रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका स्थित एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ ।

राजदेवी ८ लक्ष्मिपुर गाउँ छेउ पोखरीमा सोमवार दिउँसो नुहाउने क्रममा ब्रतालु महिला स्थानिय प्रमोद साह कानुको ४५ बर्षिया श्रीमती गिरीजा देवी कानुको डुबेर मृत्यु भएको हो ।

ब्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाउना साथ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले महिलाको उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पठाएको थियो । तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन् । 

मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् । 

तराई मधेशमा मनाईने जितिया पर्वको पूर्व संध्या अर्थात एकदिन अघि नहाय खाय मनाउने चलन रहिआएको छ । नहाय अर्थात नुहाउन स्नानको लागि महिलाहरु समूह समूहमा गाउँ नजीकको नदी, पोखरी, जलासयमा जाने गर्दछन् ।

राजदेवीमा आज भएको घटना नुहाउने क्रममा  खुट्टा चिप्लीएर पोखरीको गहिरो पानीमा लडेर डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । जितिया पर्व मनाउँदा पितृले मुक्ती पाउने र छोराको आयु लामो हुने घटना दुर्घटना बाट जोगिने जनविश्वास रहिआएको छ ।

रौतहटमा कतिपय ठाउँमा आजै नहाय खाए मनाईएको छ भने कैयौं ठाउँमा भोली मनाईने बताईएको छ ।