किन फ्लप भयो नेपालको ब्याटिंङ ?

किन फ्लप भयो नेपालको ब्याटिंङ ?

एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै कहिलेसम्म उसलाई बोकेर हिड्छ क्यान



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश बनाएको छ । आइसीसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ ।

हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छ ।

यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिंङमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरुले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिदैन । हरेक पटक उनीहरु गैर जिम्मेवारीपुर्वक आउट भएका छन् ।

पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निरास बनाएका छन् ।अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।

शिर्ष क्रमका ब्याट्सम्यान साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्याण्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्बाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्धशतक प्रहार गर्न सकेका छैनन् ।

त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल शाहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।

यस सिरिजमा सबै भन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एकदिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रुपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।

त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक नै रहेको छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।

त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याटपनि लामो समयदेखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिंङमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त सिंगल स्कोरमै आउट भएका छन् ।

त्यसैगरी विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन मात्र बनाए ।

यसरी हेर्दा नेपालको लगातार हार हुनुमा शिर्षक्रममा खेलिरहेका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन्, आफ्नो र टिमको आत्मविश्वास समेत तोडेका छन् ।

खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को ? जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए । बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा उडियो, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।

एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिड्छ ? यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरुको हो । तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरुले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने मात्र हो । के पनि बिर्सनु हुदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकप सम्म पुर्याएका हुन् तर त्यो अब विगत बनिसक्यो ।

अब अगाडी बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरुलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी छ ।