संविधानको मर्म र भावना विपरीत अधिकार कटौती हुँदैन : कार्यवाहक प्रधानमन्त्री सिंह

संविधानको मर्म र भावना विपरीत अधिकार कटौती हुँदैन : कार्यवाहक प्रधानमन्त्री सिंह



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताएका छन् ।

बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका दलहरूको सरकार बनेको बताएका हुन् ।

उनले गत निर्वाचनको परिणाम अनुरूपको संसद् नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयक समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताए ।

उनले कांग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरीत गएर संविधानमा भएका अधिकारहरूको कटौती नगर्ने बताए । उनले अर्थतन्त्रको गतिशीलतामा रोक लगाउने खालका कुनै पनि विधेयक संसदमा नलैजाने बताए ।

उनले भने, ‘राजनीतिक स्थिरता र स्थायित्व बिना अरू कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको कारणले गर्दा सबभन्दा पहिले राजनीतिक स्थिरता दिनुपर्‍यो। गत निर्वाचनबाट जुन परिणाम आयो, संसदको बनावट कस्तो भयो भने ८/९ महिनामा सरकार परिवर्तन भइराख्ने । आम जनतामा सरकार त टिक्दैन भने सरकारले हाम्रो लागि के राम्रो काम गर्छ र भन्ने भाष्य विकास हुन थाल्यो । भन्न त भन्छन्, संसदको ठूलो र दोस्रो ठूलो पार्टी एकै ठाउँमा आएर सरकार बनायो भने त संसदीय प्रणालीकै खिलापमा जान्छ कि भन्ने विचार पनि नआएको होइन । तर हामीले के बुझ्नुपर्‍यो भने अहिलेको राजनीतिक अस्थिरताको कारणले संसदबाट पनि विधेयकहरू पारित गर्न नसकेको कारणले पनि राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) लगायत अन्य दलहरू मिलेर अहिलेको यो सरकार बनेको छ । कांग्रेस–एमालेले आन्दोलन गरेर अधिकार संकुचित भयो । अधिकारमा स्वतन्त्र हुनुपर्‍यो भनेर लडेको पार्टीले सत्तामा गएपछि आफैले जारी गरेको संविधानको भावना र मर्म विपरीत हामी आफैले जन्माएको संविधानमा भएका अधिकारहरू कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र ? चिताउँदैन नि ।’