बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छ : कार्यवाहक प्रधानमन्त्री



चितवन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवम् कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालले गरेको प्रगतिको प्रशंसनीय रहेको बताए ।

अस्पतालले गर्ने कार्यहरु नेपाल सरकारको नीतिअनुसार बिरामी मैत्री बन्नुपर्ने उनको भनाइ थियो । उनले भने, “नेपालमा सबै क्यान्सर रोगको उपचार सम्भावना हुनेगरी कार्य गर्ने सङ्कल्प र प्रतिबद्धता आएको छ, धन्यवाद दिन चाहन्छु ।” उनले थपे, “अस्पतालबाट प्रदान गरिने सेवाहरुको विस्तृत विवरण प्रतिवेदनका रुपमा सार्वजनिक भएबाट अस्पतालका कार्यहरु नेपाल सरकारका नीतिअनुसार बिरामीमैत्री भएकोमा खुसी व्यक्त गर्दछु ।”

अस्पतालमा सबै प्रकारका रोगको उपचारका लागि आवश्यक पर्ने लिन्याक र सिटी सिमुलेटरको उपकरण खरिद गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उपप्रधानएवं सहरी विकासमन्त्री सिंहले जानकारी दिए । उनले भने, “यो अस्पताल क्यान्सर रोगको उपचराका लागि विदेसिनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो । यसलाई अझै सशक्त बनाउन आवश्यक रहेको छ ।”

सो अवसरमा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले यो अस्पताल देशको लाइफलाइन अस्पतालका रुपमा रहेको बताए । क्यान्सरको उपचारका लागि प्रथम बिन्दुका रुपमा रहेका जनाउँदै उनले सबल र उत्कृष्ट उपचारले रोग निको हुने बताए । उनले भने, “अस्पतालले उत्कृष्ट सेवा विस्तार र जनताले सहज उपचार पाउनुपर्छ ।”

नेपाली समाजमा क्यान्सर रोग लागेपछि लुकाएर राख्ने र समयमा उपचारका लागि नआउने प्रचलका कारण मानिसहरुको मृत्यु हुने गरेको उनको भनाइ थियो । जनतामा जनचेतना जगाउन सके उपचारका लागि खर्चिलो नहुने उनको भनाइ छ । प्रमुख देवकोटाले थपे, “सबल मानसिकता र उत्कृष्ट उपचारले रोग निको हुन्छ ।”

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले नेपालमा रहेका क्यान्सर रोगका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको उपचार यस अस्पतालमा हुने गरेको बताए । २० प्रतिशत नेपालका अन्य अस्पतलामा र २० प्रतिशत छिमेकी राष्ट्रसहित अन्य मुलुकमा उपचारका लागि जाने गरेको उनले जानकारी दिए । भविष्यमा यस अस्पताललाई ७०० शय्याको बनाउने योजना रहेको डा. पौडेलको भनाइ छ ।