एन्फा महिला लिगको दोस्रो चरणकाे समीकरण पूरा

एन्फा महिला लिगको दोस्रो चरणकाे समीकरण पूरा



काठमाडौं । एन्फा महिला फुटबल लिग फुटबलमा दोस्रो चरणको समीकरण पूरा भएको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा पुगेको हो ।

कोशीले सुदूरपश्चिमलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा ममता राउत र कुश्मा राईले समान १ गोल गरे । जीतसँगै कोशी ९ खेलमा १४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । सुदूरपश्चिम ९ वटै खेल हारेर अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमले प्रतियोगितामा ६९ गोल खाँदा ३ गोल फर्काएको छ ।

आज भएको पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई २–१ गोलले हराउँदै स्याङ्जाको वालिङ नगरपालिका पनि दोस्रो चरण्मा पुगेको छ । एन्फा महिला लिगमा यसअघि नै सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो चरणमा पुगिसकेका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा चलिरहेको लिगमा १० वटा टोली सहभागी भएकामा पहिलो चरणमा शीर्ष ५ मा रहेका टोली दोस्रो चरणमा पुगेका हुन् ।