न्युजिल्यान्डसँगको टेस्ट शृङ्खलामा श्रीलंकाको ‘क्लिन स्वीप’

न्युजिल्यान्डसँगको टेस्ट शृङ्खलामा श्रीलंकाको ‘क्लिन स्वीप’



काठमाडौं । न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खलामा श्रीलंकाले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा श्रीलंकाले न्युजिल्यान्डलाई एक पारी र १ सय ५४ रनले हरायो ।

‘फलो अन’ मा परेको न्युजिल्यान्ड दाेस्रो पारीमा ३ सय ६० रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वे, टम ब्लुनडेल, ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले अर्धशतक बनाए । श्रीलंकाका निशान पेरिसले ६ विकेट लिए ।

यसअघि घरेलु मैदान गलेमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारीमा ५ विकेट गुमाएर ६ सय २ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा श्रीलङ्काका कमिन्दु मेन्डिजले नट आउट १ सय ८२ रन बनाएका थिए । यस्तै दिनेश चन्डिमाल र कुसल मेन्डिजले शतक तथा एन्जेलो म्याथ्युजले अर्धशतक बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३ विकेट लिए । यस्तै न्युजिल्यान्ड पहिलो पारीमा ८८ रनमै अल आउट भएको थियो । न्युजिल्यान्डका मिचेल स्यान्टनरले सबैभन्दा धेरै २९ रन बनाए । श्रीलंकाका प्रभात जयसूर्याले ६ विकेट लिए ।

पहिलो टेस्ट क्रिकेटमा श्रीलंकाले न्युजिल्यान्डलाई ६३ रनले हराएको थियो ।