टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

टोटनह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार


ग्लोब नेपाल
81
Shares

लन्डन । म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनह्यामले म्यानचेस्ट युनाइटेडमाथि ३-० गोल अन्तरको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा ब्रेन्नान जोन्सन, डेजान कुलुसेभेस्की र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ४२औं मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नानडेजले रातो कार्ड पाएका थिए । रातो कार्डसँगै उनले अबका लिगका तीन खेल गुमाउने भएका छन् ।

यो यस सिजनमा म्यानचेस्टर युनाइटेडको तेस्रो हार हो । ६ खेलमा ७ अंक बटुलेको म्यानचेस्टर युनाइटेड लिगमा १२औं स्थानमा छ । त्यसैगरी टोटनह्यामको भने यो जितपछि ६ खेलमा १० अंक भएको छ र लिगमा आठौ स्थानमा उक्लिएको छ ।

एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ६४औँ मिनेटमा इडर मिलिताओले गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि इन्जुरी समयपछि एंगल कोरियाले गोल गर्दै रियल म्याड्रिडको जित खोसेका थिए ।
यस खेलमा ९० मिनेटको इन्जुरी समयपछि एटलेटिकोका मार्कोस लियोरेन्टले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ । यो खेलपछि रियल म्याड्रिडको ८ खेलमा १८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना २१ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी एटलेटिको म्याड्रिड १६ अंकसहित तेस्रो स्थानमा छ ।