अमेरिका भ्रमण गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

अमेरिका भ्रमण गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएका छन् । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए ।

ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।

ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् ।