संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं : प्रधानमन्त्री

संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं : प्रधानमन्त्री



काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन् बिगार्न खोजिएको बताए ।

‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौँ । सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ’, ओलीले भने । उनले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरे ।

प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए । उनले भने, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन ।’

प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग बोले लगत्तै जारी प्रेस वक्तव्यमा विपद्का मृतकप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । उनले घाइतेको स्वास्थ्यलाभ कामना गरेका छन् । उनले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए ।