आईजिपीको जिब्रो थुत्नैपर्छ, आर्मीलाई व्यापार गर्न दिए संकट आउँछ: सरकारका प्रवक्ता गुरुङ

आईजिपीको जिब्रो थुत्नैपर्छ, आर्मीलाई व्यापार गर्न दिए संकट आउँछ: सरकारका प्रवक्ता गुरुङ


ग्लोब नेपाल
405
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकको बिज्रो थुत्नुपर्ने आफ्नो विवादास्पद भनाइ सही रहेको दाबी गरेका छन् ।

योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा पत्रकार जीवराम भण्डारीसँगको अन्तर्वार्तामा गुरुङले सरकारले आदेश नमान्ने र जथाभावी बोल्दै हिंड्नेको जिब्रो थुत्नुपर्छ भन्नु अन्यथा नभएको जिकिर गरे ।

कार्यक्रममा भण्डारीले सोधेका थिए, ‘कुनै समय तपाईंले प्रहरी आईजिपीको जिब्रो थुत्नुपर्छ भन्नुभयो । झण्डै तपाईं जिम्मेवारीबाटै बाहिरिनुपर्ने स्थिति आयो । अहिले सामसुम भयो, मलाई खुसी लाग्यो । कुनै समय तपाईंले नेपाली सेनाबाट अहिले पनि गणतन्त्रलाई खतरा छ भन्नुएको थियो अहिले चाहिं के ठीक छ ?’ ।

जवाफमा गुरुङले बढी बोल्नेको जिब्रो थुत्नुपर्ने भन्ने भनाइ समाजमा पहल्यिैदेखि रहेको बताए । प्रहरी, सशस्त्र प्रहरी, सेना कर्मचारी र राज्यका कुनै पनि निकायले संविधान मान्दिन भन्न नपाउने उनको भनाइ थियो ।

राज्यका निकायहरु संविधान, मुलुक र सरकारप्रति बफादार हुनुपर्ने भन्दै उनले राज्यका निकायका बस्नेले बढी बोल्न नमिल्ने बताए । आफूले सही कुरा बोल्दा कतिपयले पृथ्बीसुब्बाको मन्त्री पद जान्छ भन्ने अफवाह फैलाएको पनि गुरुङले स्मरण गरे ।

‘मैले के भनेको भनदेखि मैले भनेको कुरा सही हो । यो मुलुकको कुनै संस्थाहरु छन् नेपाल प्रहरी होला, नेपाल आर्मी होला या एपीएफ होला, ब्युरोक्रेसी होला या अरु कुनै अंग होला । राज्यको कुनै महत्वपूर्ण अंगले म संविधान मान्दिन । मलाई यो कुरा लागेको छ भन्न पाउँछ कि पाउँदैन ? मैले यो कुरा मात्र कोट्याएको हो ।

सबै संविधानप्रति बफादार हुनुपर्छ, सरकारप्रति बफादार हुनुपर्छ, राज्यप्रति बफादार हुनुपर्छ । जे पायो त्यही बोल्न पाउँछ ? हाम्रो समयमा बोलेको कुरामा माफी माग्नुप-यो भने, बोलेको कुरा गलत भयो भने त्यसको बिज्रो थुत्नुपर्छ भन्ने चलन थियो नि । त्यही कारणले पृथ्बीसब्बा गुरुङको मन्त्री पद जान्छ भनेर अफवाह फैलाइयो । मैले नभएको कुरा बोलेको छु ? मैले झुठो कुरा बोलेको छु ?’, उनले भने ।

यस्तै उनले नेपाली सेनालाई व्यापार गर्न दिन नुहने धारणा राखे । शक्तिमा भएको सेनाको महत्वकांक्षा बढाइदिँदा दुर्घटना निम्तिएका उदाहरणहरु रहेको भन्दै उनले सेनाको महत्वकांक्षा बढाउँदा संकट उत्पन्न हुने दाबी गरे ।

‘हामीले आर्मीलाई कसरी चलाउने भन्ने कुरामा बुद्धि पु-याउनुपर्छ । आमीलाई व्यापारमा धेरै लगाउनुभएन । आर्मीमा महत्वकांक्षा पलाउँदा दुर्घटना निम्तिएका घटना सम्झिएर मैले भनेको हो । त्यो त त्यसको प्रवृत्ति त्यस्तो हुन्छ । शक्तिमा रहेका मानिसहरुलाई शक्तिको महत्वकांक्षा बढाइदियो भने संकट निम्त्याउँछ’, गुरुङले भने ।

गुरुङले गत १५ भदौमा एमाले पत्रकारको संस्था प्रेस चौतारीले पोखरामा गरको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने अशोभनीय अभिव्यक्ति दिएका थिए ।

प्रहरी महानिरीक्षकले प्रहरी समायोजनाविरुद्ध बोल्दै हिंडेकाले उनको बिज्रो थुत्नुपर्ने गुरुङको भनाइ थियो । ‘निजामती र संघीय प्रहरी ऐन आउने, फर्किने धेरैपटक भइरहेको छ। तर, अब लन्च गर्ने तयारी छ । त्यसको धेरै अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ ।

प्रहरीको आइपिजीले के भन्यो, म यो कानुन लागू नै गर्दिनँ, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यस्को जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरी’, उनले भनेका थिए । सरकारले लिएको नीतिविरुद्ध एउटा संस्थाको प्रमुखले बोल्न नपाउँने भन्दै प्रहरी प्रमुखले प्रहरी समायोजन ऐन ल्याउँन दिन्न भनेको आफूले सुनेको दाबी उनको थियो ।