चन्दननाथ र भैरवनाथ मन्दिरको लिंगाे फेरियो

चन्दननाथ र भैरवनाथ मन्दिरको लिंगाे फेरियो



जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिंगाे आज फेरिएको छ ।

हरेक वर्ष घटस्थापनाका दिन लिंगाे फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको चन्दननाथ एवं भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए ।

मन्दिरमा लिंगाे ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । ‘चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ । भैरवनाथ मन्दिरको लिङ्गोमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने चलन छ’, थापाले भने । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिंगाेसहित ध्वजा राख्ने प्रचलन रहेको हो ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलन रहेको अध्यक्ष थापाले बताए । मन्दिरमा जय स्तम्भसहित पाँचवटा लिङ्गो खडा गरिएको उनको भनाइ छ ।

घटस्थापनाको दिन उत्पादन वृद्धि होस्, भोकमरी नहोस् भन्ने कामनासहित चन्दननाथ भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चडाउने परम्परा रहेको यहाँको संस्कृतिका जानकार रमानन्द आर्चायले जानकारी दिए । एक दशक पहिलेसम्म लिङ्गो फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न वस्तु पठाउने चलन थियो ।

‘जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घीउ, मह आउथ्यो । हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो’, उनले भने ।

अहिले उक्त परम्परा रोकिएको आर्चायले बताए । अहिले सुरक्षाकर्मीले सबै व्यवस्था गर्ने उनको भनाइ छ । कर्णाली प्रदेश सरकारले यही असोज १४ गते (कृष्ण त्रयोदशी) मा चन्दननाथ मन्दिरको लिंगाे बोक्ने दिनका रुपमा जुम्लामा एकदिन सार्वजनिक बिदा दिएको थियो ।