राप्रपा नेताहरूको जिम्मेवारी हेरफेर

राप्रपा नेताहरूको जिम्मेवारी हेरफेर



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेताहरूको जिम्मेवारी हेरफेर भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । साथै उनले केही विभागका प्रमुखहरूको मनोनयन गरेका छन् ।

जसअनुसार, संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्कालाई जिम्मेवारी दिएका छन् ।

यस्तै विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आईटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी ताेकिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।