यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान


ग्लोब नेपाल
0
Shares

काठमाडौं । हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई-दुई उडान थप गरेको छ । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एयरले यात्रुको चाप बढेपछि उडान थपेको हो ।

श्री एयरलाइन्सले पनि आजदेखि काठमाडौँ-भरतपुर-काठमाडौँ रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यती एयरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौँ-भद्रपुर-काठमाडौँ र काठमाडौँ-नेपालगञ्ज-काठमाडौँमा एक-एक उडान थपेको छ । साथै असोज १८ गतेदेखि काठमाडौँ-जनकपुर-काठमाडौँ गन्तव्यमा एक उडान थपिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चाल अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ । उडान चाप बढेपछि एयरलाइन्सले उडान थपेर यात्रुलाई गन्तव्य पुर्‍याइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित १८२ उडान र १८२ वटा अवतरण भएका थिए । जसमा उक्त दिन १७ हजार चार जना यात्रुले उडान गरेका थिए ।

साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । जसमा १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कुल ५९९, मङ्गलबार ५११ र बुधबार ४७३ वटा उडान भएका छन् ।