विपद र चाडसँगै आएकाले हवाई चाप बढ्याे : मन्त्री पाण्डे

विपद र चाडसँगै आएकाले हवाई चाप बढ्याे : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएकाले हवाई चाप बढेको बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘विपद र महान चाडहरूसँगै आएकाले हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भन्ने कुरामा हामी निरन्तर काम गरिरहेका छौं ।’

मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए । उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरू बनाएर सुदृढीकरण गर्ने बताए ।

मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ, संस्थाहरूले सत्य, तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए । उनले नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन् ।

मन्त्री पाण्डेले आज नै त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलमा यातायातसम्बद्ध पदाधिकारीसँग छलफल गरेका छन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्र्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका थिए ।