संघीय सरकारका तीन जना मन्त्री बाढी प्रभावित क्षेत्र सिन्धुलीमा

संघीय सरकारका तीन जना मन्त्री बाढी प्रभावित क्षेत्र सिन्धुलीमा



सिन्धुली । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री पुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट गएका हुन् ।

उनीहरूले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन् ।

रामेछापतर्फको ५१ मिटर बगेको बेलिब्रिज यातायात सञ्चालनका लागि नेपाली सेनाले प्रारम्भिक काम थालनी गरिसकेको छ । उनीहरूले यो कामको निरीक्षणसमेत गरेका छन् ।

अहिले बाढी पहिरोबाट जिल्लामा भएको क्षति तथा तत्काल भइरहेको सडक पूर्वाधारको पुनर्निर्माण, उद्धार र राहतका सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेलगायत स्थानीयवासीसँग उनीहरूले छलफल गरिरहेका छन् । त्यहाँबाट उनीहरू सिन्धुपोल्चोकको चौतारा जाने कार्यक्रम रहेको छ ।