ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता

ब्राजिलमा पहिरोमा पुरिएर २ सय जनाभन्दा धेरै बेपत्ता



काठमाडौं । ब्राजिलमा पहिरोमा पुरिएर दुई सय जनाभन्दा धेरै बेपत्ता भएका छन् । हिजो ब्राजिलको अमेजनस राज्यको मनाकापुरुको बन्दरगाह क्षेत्रमा पहिरोमा परेर दुई सय जनाभन्दा धेरै मानिस हराइरहेका र उनीहरूको ज्यान गएको हुन सक्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रियो दि जेनेरियो राज्यको सैन्य निकायले अमेजन नदीको किनारमा रहेको टेरा प्रेटा बन्दरगाह नजिकैको ठूलो क्षेत्र भासिएर पहिरो गएको जनाएको छ । बन्दरगाह व्यापार र यातायातको प्रमुख विन्दुका रूपमा थियो ।

पहिरो जाँदा दुई सय जनाभन्दा धेरै मानिसले सामान लोड र अनलोड गरिरहेका थिए । अमेजन नदीको पानीमा डुङ्गा, पाइप, घर र गाडीलगायतका भग्नावशेष पनि भेटिएका छन् ।

अमेजन क्षेत्रमा ठूलो खडेरीपछि भएको वर्षाले गर्दा ठूला पहिरोको जोखिम रहेको छ । पहिरोमा फसेकाहरू केही कामदारलाई बचाउन प्रयास भइरहेको खबरमा उल्लेख छ ।