उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन



काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्ष्तामा विज्ञहरूको पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् । आयोगले आवश्यकताअनुसार निजी क्षेत्रलगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्शसमेत गर्नेछ ।

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरी नेपालको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरू दिने विश्वास व्यक्त गरेका छन् ।

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरूको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । आयोगले कार्यविधि आफैँ बनाउने छ ।