शेयर बजार सामान्य बढ्यो, ७ अर्बको कारोबार

शेयर बजार सामान्य बढ्यो, ७ अर्बको कारोबार



काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अंकले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ६६ करोडको कारोबार भएकोमा आज तीन सय १६ वटा कम्पनीका एक करोड ८८ लाख कित्ता शेयर सात अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै कुमारी बैंकको ३३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।