टिआरसी सर्च कमिटीलाई पूर्णता दिने सहमति

टिआरसी सर्च कमिटीलाई पूर्णता दिने सहमति



काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे छलफल सकारात्मक दिशामा अघि बढेको प्रमुख दलका शीर्ष नेताहरूले बताएका छन् ।

बिहीबारको बैठकमा आयोग प्रमुख सिफारिस गर्न बनेको समितिलाई पूर्णता दिने विषयमा छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठनबारे छलफल भएको उनले बताए । ‘आयोग गठन गर्नेबारे छलफल भयो । छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक-दुई दिनभित्र सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ’, उनले बैठकपछि भने ।

छलफलमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।