रास्वपाका नेताहरु पार्टी कार्यालय वनस्थलीमा

रास्वपाका नेताहरु पार्टी कार्यालय वनस्थलीमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएका हुन् ।

सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने केन्द्रीय कार्यालयमा रहेका नेताले बताए ।

६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । तर आज भने केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी नगरिएको स्रोतको दाबी छ ।

अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।

सभापति लामिछानेले विपक्षी दलहरुको पनि साथ खोजेका छन् । शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सभापति लामिछानेलाई पक्राउ गर्न सरकारले तयारी गरेको ब्रिफिङ गरेका थिए ।