रास्वपा सभापति रवि लामिछाने पक्राउ

रास्वपा सभापति रवि लामिछाने पक्राउ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले पार्टी मुख्यालय बनस्थलीबाट लामिछानेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।