काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सूचना निकालेर अधिवेशन स्थगित गरेको जानकारी गराएको हो ।
गएको बिहीवारदेखि रास्वपाले जिल्ला भेला शुरू गरेको थियो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न र पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निकालेकाे सूचनामा उल्लेख छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनधिकृतरूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि रवि शुक्रवार काठमाडौंबाट पक्राउ परेका हुन् । अहिले कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज सार्वजनिक बिदा रहेकोले भोलि मात्र अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया