सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई रविको अपिल

सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई रविको अपिल



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई अपिल गरेका छन् ।

पक्राउपछि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।

उनले भने, “अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारका विरुद्ध देशैभरबाट सडकमा निस्कनुपर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । सबैले सडकबाटै दबाब दिन जरुरी भइसकेको छ ।”

सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट अदालत लगिएको हो । उनलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।