एमालेले केही साना पार्टीलाई फुटाएर मिसाउन खाेजेकाे शेखरकाे शंका

एमालेले केही साना पार्टीलाई फुटाएर मिसाउन खाेजेकाे शेखरकाे शंका



विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु मुलुकका लागि लाभदायक नभएको भन्दै आपत्ति जनाएका छन् । आइतबार गृहनगर विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै उनले साना दललाई विभाजन गरेर ठूला दलमा बिलय गराउने शंका रहेको बताए ।

‘केही साना पार्टीलाई फुटाउने र एमालेमा मिसाउने शंका रहेको छ । यसैका लागि दलसम्बन्धी ऐन ल्याउन खोजिँदै छ । एमालेले स्थायित्वका लागि भने पनि ‘यो ऐन ल्याउदाँ झन अस्थिरता हुने देखिन्छ । धेरै प्रतिशत राखिँदा दलहरु कम हुन्छन् । साना पार्टी पनि अन्यमा मिसिने छन् । कुनै एक दल ठूलो हुने र एकांकी हुने हुँदा सतर्क रहन आवश्यक छ,’ उनले भने ।

अध्यादेशले रणनीतिक रूपमा एमाले ठूलो दल बन्ने बाटो खोल्ने आशंका शेखरकाे छ । ‘म यसै हो भन्न सक्दिनँ । तर सञ्चार क्षेत्रमा आएको कुरा हेर्ने हो भने एमालेले ल्याउने प्रयास गरिरहेको दलसम्बन्धी अध्यादेश कुनै पनि हालतमा हाम्रो मुलुकको स्थिरताका लागि लाभदायक छैन’, कोइरालाले भने ।