देशलाई निकास दिन कांग्रेस–एमालेबिच गठबन्धन : प्रदीप ज्ञवाली

देशलाई निकास दिन कांग्रेस–एमालेबिच गठबन्धन : प्रदीप ज्ञवाली



सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताए । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उनले भने, “देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।” उनले वर्तमान सरकार आगामी चुनावसम्म टिक्ने समेत बताए ।

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताए । विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उनको भनाइ थियो ।

उनले भने,, “वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक संकेत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ ।”

उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाले भरिएको जिल्ला भएको बताए । उनले २४ वर्षपछि आफू यहाँ आउँदा धेरै परिवर्तन भएको पाएको बताए । उनले आफू यहाँ आएर नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाशको समेत दर्शन गर्न पाएकामा खुसी व्यक्त गरे ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोड्ने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुनःनिर्माणलाई सरकारले ध्यान दिने उनको भनाइ थियो ।