दल विभाजन गर्ने अध्यादेश नल्याउन सरकारलाई माधव नेपालकाे चेतावनी

दल विभाजन गर्ने अध्यादेश नल्याउन सरकारलाई माधव नेपालकाे चेतावनी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरू पार्टीलाई सिध्याउने गरी दल विभाजन अध्यादेश ल्याए त्यो मान्य नहुने बताएका छन् ।

कपिलवस्तुमा सोमबार भएको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दल विभाजन गर्ने अध्यादेश नल्याउन सरकारलाई चेतावनी पनि दिए ।

अध्यक्ष नेपालले देश विकासका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं तर अरू पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन,’ अध्यक्ष नेपालले भने ।

अरूलाई सिध्याउँछु भन्नेहरू आफैं समाप्त भएर जाने पनि उनको भनाइ थियो । आफूमा ओली वा अरू कोहीप्रति पनि बदलाको भावना नरहेको नेपालको भनाइ छ ।

‘कतिपयले एकीकृत समाजवादी एमालेमा बिलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर भ्रम फैलाएका छन्, हामी कसैसँग पनि बिलिन हुँदैनौं,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिन एकीकृत समाजवादी सक्षम छ ।’