पर्यटन मन्त्रालयको सय दिन : आगामी यात्राको आधारशिला तयार

पर्यटन मन्त्रालयको सय दिन : आगामी यात्राको आधारशिला तयार



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ ।

वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला तयार गरेको हो । मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रम अनुरूप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा अलग गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस भएको छ ।

पर्यटन ऐन र क्यासिनो नियमावली मस्यौदा मन्त्रिपरिषद्मा पेस भएको छ । संस्कृति नीतिको मस्यौदा पनि मन्त्रिपरिषद्मा पेस भएको छ । पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको छ । ग्रेट हिमालयन ट्रेलको पाँच किलोमिटर निर्माण भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । भूकम्पबाट क्षतिग्रस्त नौ सय २० पुरातात्त्विक महत्वका सम्पदाहरूमध्ये गत आवमा आठ सय सम्पदाको पुनः निर्माण सम्पन्न भएकामा थप पाँच वटा सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

थप ५७ हिमालको आरोहण खुला गरिएको छ । मन्त्रिपरिषद् बैठकले छ हजार पाँच सय मिटरभन्दा तलका उक्त हिमाल आरोहण खुला गरेको हो । मन्त्रालय र मातहत निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि अर्थमन्त्रालयमा पेस गरिएको छ ।

पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाइएको छ । सङ्घीय भाषा ऐनको मस्यौदा तर्जुमाको प्रक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय महत्वका अभिलेखहरूको सङ्कलन सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन गरिएको छ ।

लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना कार्यान्वयनमा छ । अविरल वर्षा, बाढीपहिरोका कारण गोरखाको सामागाउँमा बिचल्लीमा परेका एक सय ६३ जना विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको, विमानस्थलमा अधिकतम क्षमतामा उडान सञ्चालन गरिएको जनाइएको छ ।