मालढुंगा–बेनी–जोमसोम सडक स्तरोन्नति : २ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा पनि पूरा भएन

मालढुंगा–बेनी–जोमसोम सडक स्तरोन्नति : २ वर्षमा सक्नुपर्ने काम ७ वर्षमा पनि पूरा भएन



म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चार वटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा भएकाे छैन । भारतको सिमाना त्रिवेणीबाट चीनको कोरला नाका जोकालीगण्डकी करिडोरको मालढुङ्गाबाट जोमसोमसम्मको सडकलाई दुई लेनको बनाएर कालोपत्र गर्न सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७४ सालमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

योजना प्रमुख ध्रुवकुमार झाले मालढुङ्गाबाट जोमसोमसम्म ८९ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि आठ वटा खण्डमा ठेक्का सम्झौता भएकाेमा बेनी–गलेश्वर तीन किलोमिटर, गलेश्वर एक किलोमिटर र कैकुखोला–खन्ती १२ किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्ने कार्यले पूर्णता पाएको बताए । उनका अनुसार मालढुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुखोला र खन्ती–जोमसोम खण्डमा कालोपत्र गर्ने काम अझै सकिएको छैन ।

ठेक्का सम्झौता गरेको निर्माण कम्पनी आफैँले काम नगरेर दोस्रो, तेस्रो पक्षलाई काममा लगाउनु, ठेकेदारले कार्ययोजनाअनुसार उपकरण, मजदूर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्नु, सडकको क्षेत्राधिकारभित्र रहेको घरटहरा भत्काउन ढिलाइ हुनु, पूर्वस्वीकृति नलिई जथाभाबी शाखा सडक निर्माण गरिनु, कमजोर भू–बनोट, नदी कटान र बाढी पहिरो, सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाएका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित बनेको सरोकारवालाले बताएका छन् ।