मस्कले गरे ट्रम्पको अभियानलाई तीन महिनामा १० अर्ब रुपैयाँ सहयोग

मस्कले गरे ट्रम्पको अभियानलाई तीन महिनामा १० अर्ब रुपैयाँ सहयोग



काठमाडौं । विश्वकै धनी अमेरिकी अर्बपति एलन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार एवम् पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानका लागि ७५ मिलियन डलर रकम दिएका छन् । एलन मस्कले डोनाल्ड ट्रम्पको समर्थक अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा झन्डै ७५ मिलियन डलर अर्थात् १० अर्ब रुपैयाँभन्दा धेरै रकम दिएको बीबीसीले जनाएको छ । सरकारी जाँचका क्रममा यो तथ्य पत्ता लागेको हो ।

अमेरिकी राष्ट्रपतिको चुनाव जित्ने रिपब्लिकन उम्मेदवारको प्रयासमा अर्बपति कसरी महत्त्वपूर्ण भएका छन् भन्ने कुरा देखाएको खबरमा उल्लेख छ । गएको जुलाईमा ट्रम्पमाथि भएको आक्रमणपछि मस्कले उनलाई औपचारिक रूपमा आफ्नो समर्थन दिएका थिए । यद्दपि योभन्दा पहिले पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको छ ।

भर्खरै पेन्सिलभेनियाको बटलरमा ट्रम्पको र्यालीका क्रममा मस्क पनि सहभागी भएको थियो । यही ठाउँमा ट्रम्पमाथि आक्रमण भएको थियो । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति पदको चुनाव हुँदैछ । चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छिन् । यस्तै रिपब्लिकन पार्टीले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार बनाएको छ ।