शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्ला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्ला



कञ्चनपुर । महेन्द्रनगरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको छ । गएको असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ ।

निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुन्ड देख्न पाइन्छ । त्यसैगरी निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ । निकुञ्जले गरेको पछिल्लो गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ४४ पुगेको छ । त्यसैगरी, गैँडालगायत दुर्लभ वन्यजन्तुका लागि पनि निकुञ्ज प्रसिद्ध छ ।

निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातिका पुतली, सन् २०१३ को गणनाअनुसार ८०–९० वटा नीलगाई र चार सय ४९ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन् । गएको आर्थिक वर्ष निकुञ्जमा तीन हजार ६७ पर्यटकले अवलोकन गरेका छन् ।