नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने



पर्सा । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट छिटै पेट्रोल पनि आयात हुने भएको छ । नेपाल आयल निगमले अबको डेढ महिनाभित्र पाइपलाइनबाट पेट्रोल पनि आयात हुने जानकारी दिएको छ ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो परियोजनाअन्तर्गत नेपाल आयल निगमले गएको असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट पठाएर प्राविधिक परीक्षण गरिरहेको छ ।

निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम भइरहेको जानकारी दिएका छन् । उनले अहिलेसम्म पाइपलाइनबाट डिजल मात्रै आयात भइरहेकोमा अब डेढ महिनाभित्रमा पेट्रोल पनि पाइपलाइनबाटै ल्याउने बताएका छन् ।

पेट्रोल भण्डारणका लागि ४१ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेपछि प्रतिलिटर तीन रुपैयाँका दरले ढुवानी भाडा बचत हुनेछ । अहिले पेट्रोल र मट्टीतेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी हुँदै आएको छ । डिजेल भने २०७६ सालदेखि नै पाइप लाइनबाटै आयात भइरहेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका लागि नेपाल आयल निगम र भारत आयल निगमले लागत साझेदारी गरेका छन् ।