‘जेठोबूढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने

‘जेठोबूढो’ धानसहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने



कास्की । पोखरेली जेठोबूढो धानसहित कृषि उपज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किन्ने भएको छ । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबूढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिकासहितका निकाय लागिपरेका छन् ।

महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिदको सम्झौता गरेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबूढोको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल नौ हजार पाँच सय रुपैयाँ तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । आउँदो असार मसान्तसम्म कम्पनीले जेठोबूढोसँगै अन्य स्थानीय कृषि उपज खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई बेच्न सक्नेछन् ।

पोखरा महानगरले २०७६ सालदेखि पाँच रोपनीभन्दा धेरै क्षेत्रफलमा जेठोबूढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । कृषि महाशाखाका अनुसार पोखरामा ११ हजार दुई सय हेक्टरमा धान बाली लगाउने गरिएकोमा ४० प्रतिशत हिस्सा जेठोबूढोले ओगटेको छ ।