गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ

गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ



काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट तनहुँ भानु नगरपालिका-८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी हुन् ।

खनाललाई सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गरिएको हो । खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको छ ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जिबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने समेत हिरासतमा छन् ।