काठमाडौं । बालुवाटारमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो ।
नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाका नेताहरुले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी, रास्वपाका ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठ, काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल, सवि खड्का लगायतलाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बाँकी नेता–कार्यकर्ताहरुलाई प्रहरीले बालुवाटारभन्दा बाहिर पठाइरहेको छ । त्यहीँ उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।
पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया