काठमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित ५१ जना रिहा भएका छन् ।
पार्टी सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले मंगलबार गरेको प्रदर्शनका क्रममा पक्राउ परेका सांसद अशोक चौधरीसहितका ५१ जना रिहा भएका हुन् ।
सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो ।
नेपाल हाउस क्षेत्रलाई पनि प्रहरीले निषेधित क्षेत्र तोकेको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको रास्वपाका नेताहरुले बताए ।
उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका थिए ।
पक्राउ परेका सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया