नेकपा (एमाले) काठमाडौं महानगर कमिटीद्वारा देउसी भैलो कार्यक्रम

नेकपा (एमाले) काठमाडौं महानगर कमिटीद्वारा देउसी भैलो कार्यक्रम


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगर वडा नम्बर १६ नयाँ बजारमा एमालेले मंगलबार देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।

वडा नं. १६ मा यहि मंसिर १६ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै सो कार्यक्रम आयोजना गरिएको नेकपा (एमाले) काठमाडौं नगरपालिका अध्यक्ष गणेश श्रेष्ठले बताए । रिक्त अध्यक्ष पदका लागि यही मंसिर १६ मा हुन लागेको निर्वाचनलाई लक्षित गरी सो कार्याक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले देउसी भैलो कार्यक्रममा २ लाख ८५ हजार रुपैयाँ संकलन भएको र आगामी वर्षहरुमा देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिट्ब्युरो सदस्य एवं पूर्वसांसद कृष्ण राईले मंसिर १६ मा हुने उपनिर्वाचनलाई समेत लक्षित गरी यही वडामा कार्यक्रम गर्नुले विशेष संकेत गरेको बताए । नेता राईले तिहार सबै भाषा, संस्कृति र जातजातिले अपनत्व गर्ने पर्व भएको बताए । ‘मानिसको मात्र नभएर पशुपन्छीदेखि जनावरसम्मको पूजा हुने यो पर्व जीवन जगतका सबै जीवसँग सम्बन्धित छ,’ उनले भने, ‘यो हाम्रो प्राचीन संस्कृति हो, यसले नेपाल र नेपालीलाई विश्वभर चिनाएको छ ।’

उपचुनावको सम्मुखमा भएको कार्यक्रमले पार्टीभित्र र मतदातामा पनि एकताको भ्रातृत्वको सन्देश दिने उनले बताए । कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, केन्द्रीय सदस्य एवं पूर्वप्रदेश सभा सदस्य नारायण सिलवाल, केन्द्रीय सदस्य शर्मिला कार्की, केन्द्रीय सदस्य शान्ति अधिकारी, केन्द्रीय सदस्य सरिता न्यौपाने र काठमाडौं महानगर इन्चार्ज तेजप्रसाद ढकाल पनि सहभागी थिए ।

त्यस्तै कार्यक्रममा काठमाडौं महागरपालिका उपप्रमुख सुनिता डंगोल, एमाले काठमाडौं जिल्ला उपाध्यक्ष विश्वराम सापकोटा, महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउला, वडा अध्यक्षहरुलगायत सहभागी भएको जनाएको छ । कार्यक्रम सञ्चालन एमाले काठमाडौं महानगर कमिटी उपसचिव एवं वडा नम्बर ९ की सदस्य सिर्जना भेटवालले गरेकी थिइन् ।