म्याग्दी । नारच्याङमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दशैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन् ।
आधार शिविर पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए । उहाँका अनुसार दशैँपछि अहिलेसम्म तीन हजार जनाले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन् । यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिए ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट अन्नपूर्ण हिमाल आरोहण गर्ने गरिएको छ । सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथममा पहिलो मानवपाईला परेको थियो । फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक आरोहण गरेर इतिहास रचेका थिए ।
आरोहण दलको नेतृत्व गरेका मौरिस हर्जोगको सम्मानमा नारच्याङदेखि अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग’ नामकरण भएको छ । मनमोहक पञ्चकुण्ड ताल, झरना र जैविक विविधता युक्त भूगोल अन्नपूर्ण पदमार्गका मुख्य आकर्षण हुन् । अन्नपूर्ण दक्षिण हिमालको आधार शिविरमा पनि पर्यटकको लर्को लागेको छ ।
प्रतिक्रिया