सहकारी ठगीमा संलग्न सबैलाई कारवाही हुन्छ : ईश्वर पोखरेल

सहकारी ठगीमा संलग्न सबैलाई कारवाही हुन्छ : ईश्वर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताएका छन् । एमाले मोरङले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

सहकारी ठगीमा एमाले भित्रकै कोही भए पनि कारबाही हुने उनको भनाइ छ । ‘दोषी हाम्रै पार्टीभित्रको कोही छ भने पनि ऊ दण्डको भागीदार हुन्छ र हुनुपर्दछ, एमाले यसमा दृढ छ’ पोखरेलले भने । ‘हिजो एमालेलाई फत्तुर लाउनेहरू प्रधानमन्त्री केपी ओलीलाई पशुपतिको जलहरीमा सुन होइन, पित्तल लगाएको भन्नेहरू थिए, यस्ता फत्तुर लाउनेहरू छन्, अनेक खालका कुराहरू गर्छन् । तर हामी तिनीहरूको सामुन्ने ठिङ्ग उभिएर जवाफ दिन तयार छौँ, हामीले गल्ती गर्दैनौँ, गल्ती गर्नेहरूलाई दण्डको भागीदार बनाउछौँ । यो एमालेको अठोट हो र सङ्कल्प हो’ उनले भने ।

सहकारी छानबिन समिति बनाउँदा व्यक्ति तोकेर बनाउन नहुने एमालेले अडान लिएको पनि उनले स्मरण गराए । रास्वपा सभापति रवि लामिछानेकै सहमतिमा सो छानबिन समिति बनेको बताउँदै समितिले छानबिन गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेकाले अहिले सोही सिफारिसको आधारमा लामिछाने पक्राउ पर्नुभएको पोखरेलले स्पष्ट पारे ।

‘यो प्रक्रिया अगाडि बढिरहँदा यसको बारेमा किन हल्लीखल्ली ? लोकतन्त्रमा विश्वास गर्ने, सार्वजनिक जीवनमा बाँचिरहेको कोही पनि व्यक्तिमाथि प्रश्न उठ्छ भने ऊ छानबिनको दायरामा आउनु पर्दछ, अभियोजन हो भने त्यसलाई स्वीकार गर्नुपर्दछ’ पोखरेलले भने ।

पोखरेलले मुलुकलाई निकास दिन एमाले र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्नु परेको पनि बताए । मुलुकलाई थप संकटमा फस्न नदिन एमाले–कांग्रेस एक ठाउँमा उभिनु परेको उनको भनाइ छ ।