काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ६६ मत प्राप्त गरिसकेका छन् ।
उनका प्रतिस्पर्धी एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिसले एक सय ९४ इलेक्टोरल मत प्राप्त गरेकी छन् । नौ वटा राज्यमा मतगणना चलिरहेको छ ।
फक्स न्युजले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । अहिले ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरिरहेका छन् ।
फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।
उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ । यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ ।’
उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो । जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ ।’
प्रतिक्रिया