अमेरिकीले शक्तिशाली बहुमत दिए, अब स्वर्ण युग सुरू हुन्छ : ट्रम्प

अमेरिकीले शक्तिशाली बहुमत दिए, अब स्वर्ण युग सुरू हुन्छ : ट्रम्प



काठमाडौं । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो जितको घोषणा गरेका छन् । प्रमुख ब्याटलग्राउण्ड स्टेटमध्ये ३ वटामा जित निश्चित भएपछि समर्थकलाई सम्बोधन गर्दै उनले अमेरिकीले शक्तिशाली बहुमत दिएको बताएका हुन् ।

ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकलाई छोटो सम्बोधन गरे । उनी पत्नी मेलानिया ट्रम्प र चुनावी अभियानका प्रमुख कर्मचारीसहित मञ्चमा पुगेका थिए ।

उनले भने, ‘हामी आफ्नो देशलाई अघि बढ्न मद्दत गर्नेछौं ।’ उनले अमेरिकाका लागि आफ्नो कार्यकाल ‘स्वर्णयुग’ हुने दाबी पनि गरेका छन् । ‘म हरेक नागरिक, परिवार र भविष्यका लागि लड्नेछु । म हरेक दिन तपाईंहरूका लागि लडिरहनेछु । अन्तिम सास रहुञ्जेल म लड्नेछु । यो साँच्चै नै अमेरिकाका लागि स्वर्ण युग हुनेछ ।’ उनले भने, ‘यो अमेरिकी जनताका लागि सानदार जित हो । जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउनेछ ।’

ट्रम्पले आफ्नो चुनावी अभियानको नारा नै ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने राखेका थिए । अर्थात् अमेरिकालाई फेरि महान बनाउने उनको संकल्प थियो ।

ट्रम्पले आफ्नो जितको घोषणा गरे पनि आधिकारिक रुपमा चुनावी परिणाम घोषणा भएको छैन । उनले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दियो ।’

उनले फ्लोरिडाको चुनाव अभियानको मुख्यालयबाट आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् । जहाँ ठूलो मात्रामा उनको भाषण सुन्न मानिसहरू भेला भएका थिए । उनले आजको दिनलाई जिन्दगीको एक क्षणमा पछाडि फर्किएर आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने पनि बताएका छन् ।