नागरिकमा बढेको निराशा चाँडै हट्छ : प्रदीप ज्ञवाली

नागरिकमा बढेको निराशा चाँडै हट्छ : प्रदीप ज्ञवाली



गुल्मी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।

एमाले रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण कामको थालनी गरेको बताए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो ।

देशको राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उपमहासचिव ज्ञवालीले बताए ।

पटकपटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थिरता बढेको, लोकतन्त्रप्रति जनतामा निराशा पैदा हुँदै जान थालको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उनले बताए ।

‘एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैं जनताको पक्षमा काम गर्दै आएको छ,’ उपमहासचिव ज्ञवालीले भने ।