काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एकजना रथी आएको तर दलबलसहित अरू अमेरिकी सैनिक नेपाल आएको भन्ने सत्य नभएको बताएका हुन् ।
बैठकमा मन्त्री राईलाई प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले उक्त प्रश्न गरेकी थिइन् । “यो अमेरिकन सेना आयो भन्ने कुरामा एकजना अमेरिकन रथी आउनुभएको हो भ्रमणमा । त्योभन्दा अर्को कुरा मलाई जानकारीमा छैन,” मन्त्री राईले भने ।
उनले थपे, “मलाई त्यस्ता विषयमा जानकारी आइरहन्छ । तर, उहाँ भ्रमणका लागि आउनुभएको हो । र, अरू सेनाहरू पूरै दलबलका साथ आएर कहीँ बसेको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन । यसमा यति भए पुग्छ होला भन्ने लाग्छ ।”
मन्त्री राईले महाकाली करिडोर निर्माणको कामलाई नेपाली सेनाले अघि बढाउने विषयलाई आफूले प्राथमिकता दिएको पनि बताए ।
प्रतिक्रिया