एकादशी मेलामा होहल्ला हुँदा बस्तीमा पस्यो गैंडा

एकादशी मेलामा होहल्ला हुँदा बस्तीमा पस्यो गैंडा


ग्लोब नेपाल
108
Shares

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं २,३ र ४ मा मंगलवार विहानदेखि गैँडा बस्ती पसेको छ । मध्यवर्ती क्षेत्रभित्र रहेको गैडा बस्ती प्रवेश गरेपछि देवचुलीका विभिन्न वडामा गैँडा त्रास फैलिएको हो ।

मध्यवर्ती क्षेत्रमा चार दिन अघिदेखि भएको होहल्लाका कारण गैडा बस्ती पसेको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । पाण्डेका अनुसार मध्यवर्ती क्षेत्रमा होहल्ला कै कारण गैँडा बस्ती पसेको हो ।

देवचुली नगरपालिका वडा नं २ को नारायणी नदी किनारमा ४ दिन अगाडीबाट एकादशी मेला लागेको छ । उक्त मेलामा भएको होहल्लाका कारण गैँडा तर्सिएर बस्ती पसेको हो ।

अध्यक्ष पाण्डेका अनुसार अहिले गैंडा मध्यवर्ती क्षेत्रमा फर्किएको छ । अँध्यारो भएपछि चर्न निस्कने क्रममा मेलामा अबेरसम्म हुने होल्लाका कारण गैँडा बाटो बिराएर बस्तीतर्फ लागेको हुनसक्ने पाण्डेले बताए ।

रमाईलो तथा साँस्कृतिक कार्यक्रम गर्दा समयको ख्याल गर्दै वन्यजन्तुले विचरण गर्ने क्षेत्रमा राति अवेरसम्म मानिसको जमघट नर्गन पाण्डे आग्रह गरे ।

यस्ता गतिविधिले वन्यजन्तुलाई असर पुग्ने र वन्यजन्तु मानव बस्तीमा पस्न सक्ने जोखिम हुने भएकोले सचेत हुनु पर्ने उनको भनाई छ । मेला दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा नारायणी नदी किनारमा गत कार्तिक २४ गते देखि सन्चालन भएको मेला आज बुधबार सकिनेछ ।