चिसो बढेसँगै सुरक्षित बास र आहाराको खोजीमा आगन्तुक चरा कैलाली–कञ्चनपुरमा

चिसो बढेसँगै सुरक्षित बास र आहाराको खोजीमा आगन्तुक चरा कैलाली–कञ्चनपुरमा



कञ्चनपुर । उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ ।

साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहाराको खोजीमा चरा नेपाल आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) का सदस्य हिरुलाल डगौराले बताए ।

कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उनले बताए ।

विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरबैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्न यता आउने गरेका चराबारे जानकारी भएका डगौराले बताए ।

आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारी ताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उनले बताए ।