पूर्वी नाकाबाट पाँच अर्ब रुपैयाँभन्दा धैरैकाे भेनियर र प्लाईबोर्ड निर्यात

पूर्वी नाकाबाट पाँच अर्ब रुपैयाँभन्दा धैरैकाे भेनियर र प्लाईबोर्ड निर्यात



झापा । नेपालमा विदेशी मुद्राआर्जन गर्न र वैदेशिक व्यापार घाटा कम गराउन भेनियर र प्लाई काठको निर्यातले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । पहाडमा हुर्किने उत्तिस, कदम, मौवालगायत कमसल काठबाट प्लाई बोर्ड बनाउने भेनियर पत्ती वा प्लाईबोर्ड नै उत्पादन हुँदै आएको छ ।

विं.सं. २०७९ साउन १ गतेदेखि २०८१ असोज मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट पाँच अर्ब ९२ करोड पाँच लाख ९२ हजार रुपैयाँ बराबरको भेनियर पत्ती र प्लाईबोर्ड भारत निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए ।

गोलिया काठबाट भेनियर पत्ती उत्पादन हुने गर्दछ भने भेनियर पत्तीबाट प्लाईबोर्ड बनाउने गरिएको छ । नेपालमा भेनियर पत्ती सिधै भारत निर्यात हुने गरेको छ भने भेनियर पत्तीबाट प्लाईबोर्ड उत्पादन गरेर निर्यात गर्ने प्लाइउड उद्योगहरू स्थापना भएका छन् ।

पछिल्लो २७ महिनामा काँकडभिट्टा नाकाबाट ७३ करोड ६४ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको भेनियर पत्ती र पाँच अर्ब १८ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको प्लाईबोर्ड भारत निकासी भएको प्रमुख भन्सार अधिकृत चुडालले जानकारी दिए ।

नेपालमा अहिले एक सय २० भन्दा बढीको सङ्ख्यामा भेनियर उद्योग सञ्चालनमा रहेको र त्यसबाट आठ हजार जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध भइरहेको उहाँले जानकारी दिए । झापामा सबैभन्दा बढी ३८ वटा भेनियर उद्योग स्थापना भएका छन् ।