जिसस कैलालीको अध्यक्षका लागि चौधरीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

जिसस कैलालीको अध्यक्षका लागि चौधरीलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



धनगढी । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सो पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । समितिको अध्यक्षका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने तय भएको छ ।

अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुनुहुन्छ । नेपाली कांग्रेसबाट उहाँ दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित हुनु भएको थियो ।

जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिले मतदान गर्न पाउने छन् ।