७ ओभरकाे खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हरायो

७ ओभरकाे खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हरायो



काठमाडौं । पाकिस्तानसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया २९ रनले विजयी भएकाे छ ।

अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाएर ६४ रनमात्र बनाउन सक्यो । पाकिस्तानका अब्बास अफ्रिदीले सबैभन्दा धेरै नटआउट २० रन बनाए । पाकिस्तानका सात जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका जेभिएर बार्टलेट र नाथन इसिले ३/३ विकेट लिए ।

यसअघि घरेलु मैदान ब्रिसबेनमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ७ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनायो । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ४३ रन बनाए । पाकिस्तानका अब्बास अफ्रिदीले २ विकेट लिए ।

आजको खेल हावाहुरी र वर्षाका कारण प्रभावित भएपछि सात ओभरमा झारिएको थियो । अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र तेस्रो तथा अन्तिम खेल आउँदो सोमवार हुनेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो ।